बैशाख २६,सल्यान । सल्यानमा २४ घण्टा नबित्दै दुई छुट्टाछुट्टै ठाउँमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
:- पहिलो दुर्घटना
सल्यानको दार्मा गाउँपालिका–२ भुसखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
फारुल्लाचौरबाट भुसखोला तर्फ जाँदै गरेको रा १ त ४४९५ नम्बरको खाली ट्याक्टर शुक्रबार दिउँसो करिब १ः३० बजे सडकबाट करिब १५ मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्याक्टर चालक दार्मा गाउँपालिका–२ भुसखोला निवासी अन्दाजी १७ वर्षीय प्रदिप विक गम्भीर घाइते भएका थिए । उनलाई तत्काल उपचारका लागि थुम्के सल्ली स्वास्थ्य चौकी दार्मा लगिएकोमा स्वास्थ्यकर्मीले दिउँसो १ः५० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा परी ट्याक्टरमा सवार सोही स्थानका १७ वर्षीय टेकबहादुर विक घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा सामान्य चोट लागेको र थुम्के सल्ली स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै, २२ वर्षीय विशाल विकको दाहिने हातमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको र थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

:- दोश्रो दुर्घटना
त्यस्तै आज मिति २०८३ बैशाख २६ गते बिहान ७ बजेतिर सल्यानको श्रीनगरबाट दमाचौर जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भानुभक्त मावि दमाचौरको निर्माणको सामाग्री लिएर श्रीनगरबाट जाँदै गरेको ट्याक्टर मोख्ला मेला लाग्ने ठाउँदेखि अलि माथि दुर्घटनामा परेको हो ।
दुर्घटना परि ज्यान गुमाउने ट्याक्टर चालक शारदा नगरपालिका १३ निवासी वसन्त बुढाथोकी रहेको र घटनाका बारेमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय थारमारे सल्यानले जनाएको छ ।
