जेठ १६, सुर्खेत। कर्णाली छोरी सम्मेलनको दोस्रो संस्करण शनिबारदेखि आयोजना हुने भएको छ ।
श्री ज्योति फाउन्डेशनको आयोजनामा बालिका, किशोरी तथा महिलामाथि हुने लैङ्गिक विभेद, बालविवाह, छाउपडी कुप्रथा, घरेलु हिंसा, यौन दुव्र्यवहार र मानव बेचबिखनलगायत सामाजिक कुरीतिविरुद्ध आवाज उठाउने उद्देश्यसहित कर्णाली छोरी सम्मेलन–२०८३ को दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।
शुक्रबार जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा श्री ज्योति फाउन्डेशनका अध्यक्ष ज्योति कटुवालले सम्मेलनको सम्पूर्ण तयार पुरा भएको बताइन् ।
उनका अनुसार दुई दिने सम्मेलन अवधिभर कर्णालीका ८५ जना छोरीहरूले आफ्ना जीवन संघर्षका अनुभव प्रस्तुत गर्नेछन् । सम्मेलनमा विज्ञहरूले सार्वजनिक नीति निर्माणसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नुका साथै विभिन्न प्यानल छलफल सत्रसमेत सञ्चालन हुने कार्यक्रम छ ।
फाउन्डेसनले यसअघि २०८२ वैशाख २७ देखि २९ गतेसम्म पहिलो कर्णाली छोरी सम्मेलन सम्पन्न गरेको थियो । उक्त सम्मेलनमार्फत प्रदेशस्तरीय कर्णाली छोरी सञ्जाल गठन गरिएको थियो भने प्रदेशका ७९ वटै स्थानीय तहमा पालिकास्तरीय छोरी सञ्जाल गठन गरी ६ सय ६९ जना छोरीहरूलाई सञ्जालमा आबद्ध गरिएको फाउन्डेसनले जनाएको छ ।
यस्तै, फाउन्डेसनले जाजरकोट भूकम्प प्रभावित तथा विपन्न छोरीहरूको शिक्षाका लागि छात्रवृत्ति कार्यक्रमसमेत सञ्चालन गर्दै आएको छ । फाउन्डेसनले हरेक वर्ष १५ जना भूकम्पपीडित र १५ जना विपन्न छोरीहरूलाई कक्षा १२ सम्म अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको फाउन्डेशनका अध्यक्ष कटुवालले जानकारी दिइन् ।