असार १३, काठमाडौं । आदरणीय कम्रेड पुर्ब प्रधानमन्त्री बाबुराम भट्टराई क्रान्तिकारी अभिवादन !
हिजोको जनयुद्धको कठिन, चुनौतीपूर्ण र ऐतिहासिक कालखण्डमा तपाईंले निर्वाह गर्नुभएको नेतृत्वदायी भूमिका, वैचारिक स्पष्टता तथा उत्पीडित वर्ग, समुदाय र क्षेत्रको मुक्तिका लागि पुर्याउनुभएको योगदान नेपाली राजनीतिक इतिहासमा सधैं स्मरणीय रहनेछ। त्यो संघर्षको समयमा तपाईं केवल एक राजनीतिक नेता मात्र नभई परिवर्तन, विद्रोह र नयाँ समाज निर्माणको आशा बोकेको एउटा वैचारिक प्रतीकका रूपमा स्थापित हुनुभएको थियो। हजारौं युवाहरूले तपाईंका विचारबाट प्रेरणा लिए, लाखौं जनताले तपाईंमाथि भरोसा गरे र एउटा नयाँ नेपालको सपना संग आफ्नो भविष्य जोडे ।
तर इतिहाँसको मूल्य केवल विगतका उपलब्धिहरूले मात्र निर्धारण गर्दैन, वर्तमानका अभिव्यक्ति, व्यवहार र राजनीतिक दिशाले पनि निर्धारण गर्छ,यही सन्दर्भमा आज तपाईंका केही सार्वजनिक अभिव्यक्ति, विचार र राजनीतिक गतिविधिहरूले धेरै क्रान्तिकारी कार्यकर्ता, समर्थक तथा सामाजिक न्यायका पक्षधर नागरिकहरूलाई गम्भीर प्रश्न उठाउन बाध्य बनाएका छन्।
विशेषतः पछिल्लो समय “द लिडर शो” कार्यक्रममा व्यक्त गर्नुभएका विचारहरूले झन् धेरै प्रश्नहरू जन्माएका छन्, नेता कुनै टेलिभिजन कार्यक्रम, रियालिटी शो वा प्रचारमुखी प्रतिस्पर्धाबाट जन्मिने होइनन्।
साँचो राजनीतिक नेतृत्व जनताको संघर्ष, वर्गीय आन्दोलन, वैचारिक प्रशिक्षण, संगठन निर्माण र लामो राजनीतिक अभ्यासबाट निर्माण हुन्छ। जनयुद्ध, जनआन्दोलन र सामाजिक रूपान्तरणको लामो इतिहास बोक्नुभएका व्यक्तिबाट “द लिडर शोबाट नेता जन्माउन सकिन्छ” भन्ने अभिव्यक्ति आउनु राजनीतिक रूपमा अत्यन्तै कमजोर, असान्दर्भिक र लज्जापद देखिन्छ। यसले नेतृत्व निर्माणको संघर्षशील र वैचारिक प्रक्रियालाई नै हल्का रूपमा प्रस्तुत गरेको अनुभूति गराउँछ।
त्यसैगरी, सोही कार्यक्रममा जातीय विभेद अन्त्य गर्ने सन्दर्भमा सबैले आफ्नो नामको पछाडि “कामी” राख्नुपर्छ भन्ने तपाईंको अभिव्यक्तिले दलित समुदायभित्र गम्भीर असन्तुष्टि र आक्रोश उत्पन्न गरेको छ। पहिलो दृष्टिमा त्यो अभिव्यक्ति समानताको पक्षमा जस्तो देखिए पनि नेपालको जातीय उत्पीडनको ऐतिहासिक यथार्थलाई हेर्दा त्यसले समस्या समाधानभन्दा बढी पीडित समुदायको संवेदनशील इतिहासलाई हल्का बनाएको महसुस गराएको छ। शताब्दीयौंदेखि दलित समुदायले भोगेको अपमान, छुवाछुत, बहिष्करण र संरचनागत विभेदको पीडालाई केवल सबैले नामको पछाडि “कामी” राखिदिएर समाधान गर्न सकिँदैन। जातीय विभेदको अन्त्य कुनै शब्दको प्रयोगबाट होइन, विभेदकारी सोच, सामाजिक संरचना, आर्थिक असमानता र सांस्कृतिक दमनको अन्त्यबाट सम्भव हुन्छ। त्यसैले उक्त अभिव्यक्तिलाई धेरै दलित तथा सामाजिक न्यायका पक्षधरहरूले सम्मानको रूपमा होइन, बरु अपमान र संवेदनशीलताको अभावको रूपमा लिएका छन्।
क्रान्तिको आधार कुनै जात, वर्ग, समुदाय वा व्यक्तिलाई होच्याउनु होइन। यसको मूल आत्मा भनेको सबै प्रकारका शोषण, उत्पीडन, अन्याय, विभेद र असमानताको अन्त्य गर्नु हो। दलितमाथिको विभेद, महिला उत्पीडन, वर्गीय शोषण, क्षेत्रीय असमानता र सांस्कृतिक दमनविरुद्ध लड्दै आएको आन्दोलनको नेतृत्व तहमा रहनुभएका व्यक्तिबाट आउने हरेक विचारले यही मूल्यलाई मजबुत बनाउनु पर्ने हो। तर पछिल्ला अभिव्यक्तिहरूले धेरैलाई वैचारिक स्पष्टताभन्दा अन्योल र निराशा दिएको अनुभूति भएको छ।
हामी तपाईंको विगतको योगदानलाई नकार्न खोजिरहेका छैनौं। इतिहासमा तपाईंले पुर्याउनुभएको योगदानको सम्मान गर्दै नै यो प्रश्न उठाइरहेका छौं। किनकि साँचो सम्मान भनेको अन्धसमर्थन होइन, आवश्यक पर्दा इमानदार आलोचना पनि हो। आलोचना कुनै व्यक्तिगत पूर्वाग्रहबाट होइन, बरु सामाजिक न्याय, समानता र क्रान्तिकारी मूल्यप्रतिको प्रतिबद्धताबाट जन्मिएको हो।
क्रान्तिकारी आन्दोलनको एउटा महत्वपूर्ण विशेषता आत्मालोचना हो। गल्ती स्वीकार गर्ने, कमजोरी सच्याउने र जनताको भावनालाई सम्मान गर्ने संस्कार नै आन्दोलनलाई जीवित राख्ने शक्ति हो। त्यसैले आज आवश्यकता आरोप–प्रत्यारोपको होइन, गम्भीर आत्मसमीक्षा र वैचारिक पुनर्विचारको हो। तपाईंजस्तो अनुभवी र लामो राजनीतिक यात्राबाट गुज्रिएको व्यक्तित्वले समाजमा देखिएको असन्तुष्टि, आलोचना र प्रश्नहरूलाई सुन्नु तथा त्यसप्रति जिम्मेवार ढंगले प्रतिक्रिया दिनु आवश्यक छ।
हामीजस्ता युवाहरू, जो अझै पनि समानता, न्याय, समृद्धि र परिवर्तनको सपनामा विश्वास गर्छौं, तपाईंबाट पुनः स्पष्ट, जनपक्षीय र उत्पीडित वर्गको पक्षमा दृढ अडानको अपेक्षा गर्दछौं। इतिहासले नेताहरूलाई उनीहरूले बोलेका शब्द, गरेका निर्णय र अन्तिम समयमा रोजेको राजनीतिक दिशाको आधारमा मूल्याङ्कन गर्छ। त्यसैले आजको प्रश्न कुनै व्यक्तिको प्रतिष्ठामाथिको आक्रमण होइन, बरु राजनीतिक दिशा र वैचारिक प्रतिबद्धतासम्बन्धी गम्भीर प्रश्न हो।
के तपाईं अझै पनि सामाजिक न्याय, समानता र उत्पीडित समुदायको मुक्तिको पक्षमा उभिनुभएको छ?
के क्रान्तिको मूल आत्मा अझै पनि तपाईंका विचार र व्यवहारमा जीवित छ? या त्यो आत्माबाट क्रमशः दूरी बढ्दै गएको छ?
यी प्रश्नहरूको उत्तर इतिहासले अवश्य खोज्नेछ । तर त्यसअघि तपाईं स्वयंले पनि खोज्नु आवश्यक छ।
अन्त्यमा, तपाईंप्रति सम्मान व्यक्त गर्दै यही अपेक्षा गर्दछौं कि यी विचारहरूलाई व्यक्तिगत आलोचनाका रूपमा होइन, क्रान्तिकारी आत्मसमीक्षा र राजनीतिक पुनर्विचारको अवसरका रूपमा लिनुहुनेछ ।