• २०८३ भाद्र २५ गते बिहिवार
TRENDING

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु

साउन २३,सल्यान । सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।
कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा शुक्रबार शिकार खेल्ने क्रममा गोली लागेर कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी अन्दाजी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको हो।
प्रहरीका अनुसार शिकार खेल्ने क्रममा उनीहरूले बोकेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली पुन मगरको पेटको तल्लो भाग र कम्मरमा लागेको थियो। गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगरलाई पक्राउ गरेको हो।
घटनामा प्रयोग भएको भरुवा बन्दुकलगायतका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। पक्राउ परेकाहरूमाथि घटनाको प्रकृति र उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस