• २०८३ बैशाख ५ गते शनिवार
TRENDING

सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु ,१४ जना घाइते

बैशाख ५, सल्यान । सल्यानमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका-८ थारादेखि कालीमाटी गाउँपालिका-१ लक्ष्मीपुरतिर जाँदै गरेको लु.प्र. ००१ ज ०२७१ नम्बरको जिप शनिबार बेलुकी बन्गाड कुपिण्डे-१२ धाईरेमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै र १ जनाको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार मृत्यु हुनेमा थाराकै वर्ष ५२ का टोपबहादुर थापा, ५२ वर्षकै ठगे घर्ती र २९ वर्षका कर्णबहादुर पुन रहेका छन् । यस्तै सुर्खेतको मेहलकुना अस्पतालमा उपचारको क्रममा अर्का १ जना बर्ष ३० का मन बहादुर थापाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका सबैलाई तत्काल उद्धार गरेर सुर्खेतको मेहलकुना अस्पताल लगिएको प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते १४ मध्ये ५ जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । जिप अनियन्त्रित भएर दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो । जिपमा १८ जना सवार थिए । जिप सडकदेखि झन्डै सय मिटर तल खसेको थियो । सडकको दुरावस्थाका कारण जिप दुर्घटना भएको वडाध्यक्ष कुलबहादुर पुरीले बताउनु भयो । जिप अप्ठेरो ठाउँमा दुर्घटना भएकाले उद्धार गर्न समय लागेको थियो । दुर्घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस