खेमराज सुनार
नागरिक दृष्टि
मंसिर ११,जाजरकोट । पश्चिम नेपालको शक्तिशाली राज्यका रूपमा परिचित तत्कालीन जाजरकोट राज्य सञ्चालन भएको ऐतिहासिक जाजरकोट दरबार (सेतो दरबार )पुनःनिर्माणको पर्खाइमा छ।
ठूलो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक महत्व बोकेको यो दरबार विगतका विभिन्न भूकम्पहरूले क्षतिग्रस्त बनाएपछि अहिले पूर्ण पुनर्निर्माण आवश्यक बनेको हो।
विक्रम संवत १८५२ मा जाजरकोटका १६औँ राजा इन्द्रनारायण शाहले निर्माण गरेको सेतो दरबारलाई पछि भव्य स्वरूपमा विस्तार गर्ने काम वि.सं. १९२६ मा जाजरकोटका २०औँ राजा तथा श्री ३ जंगबहादुर राणाका ज्वाँई नरेन्द्रविक्रम शाहले गरेका थिए। दरबार निर्माणका लागि स्थानीय जाजरकोटी जनताले श्रमदान गरेका थिए भने भक्तपुरबाट नाक्चे नामक कालीगार्ह बोलाइएका थिए।
सुरुमा चार नालमा निर्माण गरिएको दरबार विभिन्न प्राकृतिक विपत्तिका कारण पटक–पटक मर्मत र पुनःनिर्माण हुँदै आएको छ। दक्षिणतर्फको नाल जीर्ण भएर खतरापूर्ण बनेपछि तत्कालीन जिल्ला पञ्चायतले वि.सं. २०२५ मा एक नाल भत्काएपछि अहिले दरबार तीन नालमै सीमित बनेको छ।
नेपाल सरकारले केही वर्षअघि जाजरकोट दरबारलाई मुलुकका सय वटा प्रमुख पर्यटकीय गन्तव्यमध्ये सुचिकृत गरेको थियो। तर २०७८ कार्तिक १७ गतेको शक्तिशाली भूकम्पले पुरातत्व विभागमा सूचिकृत यो दरबार पनि पूर्ण रूपमा ध्वस्त पारेको छ। अहिले दरबार पुनर्निर्माण र संरक्षणको अपेक्षामा छ भने स्थानीयवासी, सरोकारवाला निकाय र पर्यटनविद्हरूले यसलाई जाजरकोट दरबार संग्रहालयका रूपमा विकसित गर्नुपर्ने माग गर्दै आएका छन्।
ऐतिहासिक, वास्तुकला र सांस्कृतिक धरोहरका रूपमा महत्वपूर्ण मानिने जाजरकोट दरबारको दीर्घकालीन संरक्षण तथा प्रवर्द्धनका लागि शीघ्र कदम चालिनुपर्ने आवश्यकता स्थानीयमा बढ्दै गएको छ।