• २०८२ चैत्र २७ गते शुक्रवार
TRENDING

एक बादी समुदायका आमा-बुवाले बालुवा गिट्टी चालेर हुर्काएकी छोरी मन्त्री

चैत १३, काठमाडौं । सुर्खेतकी ३० वर्षीय सीता बादीको बाल्यकाल आर्थिक अभावमै बित्यो जहाँ आमा बुवाले खोला किनारमा बालुवा, गिट्टी चालेर उनलाई हुर्काउनु भयो ।
बाल्यकालमा घरबाट पढाउने स्थिति नहुँदा एउटा संस्थाले पढ्ने अवसर दिएपछि राजनीतिशास्त्रमा मास्टर गरेकी बादी लामो समयसम्म महिला, बालबालिका तथा आफ्नो समुदायको हक हितको लागि सडकबाट आवाज उठाउँदै आएकी थिईन् र हालै नव गठित बालेन नेतृत्व सरकारको   महिला तथा बालबालिका मन्त्री बनेकी छिन् ।

को हुन्  त सीता बादी ?

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका–१४ स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ–८ मा बसोबास गर्दै आएकी वादीले राजनीतिक यात्रामा रास्वपाबाट सुरु गरेकी हुन । ‘महिलाहरूको स्थिति नाजुक छ, त्यसमा पनि दलित र वादी समुदायको त झनै पीडादायी छ,’ उनले भनिन, ‘स्थिति सुधार गर्ने खालको परिणाममुखी काम गर्छु ।’

सीताका अनुसार राजनीतिको यात्रा सजिलो छैन । तर, यो अवसरलाई उनले भरपुर सकारात्मक कार्यमा लगानी गर्ने बताइन। समाजमा विद्यमान असमानता, विभेद र अपमानको जालो हटाएर समानतापूर्ण समाज निर्माण गर्नुपर्ने उनको धारणा छ । आधा आकाश ढाक्ने महिलाको परिस्थितिलाई अझै बलियो बनाउने र सीमान्तकृत समुदायका महिलाको विकासमा जोड दिने उनको योजना छ ।

वादी समुदाय, दलितभित्र पनि अत्यन्तै सीमान्तकृत, जहाँ गरिबी मात्रै होइन, नियति जस्तो बनाइयो, जहाँ अपमान सामान्य व्यवहारजस्तै स्वीकार गर्न बाध्य बनाइयो । यसअघि वादी समुदायबाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसबाट उमादेवी वादी निर्वाचित भएकी थिइन । ‘वादी समुदायका खान र बस्नसमेत नपाएको अवस्था छ । वादी समुदायका छोरीहरूको अवस्था अन्धकारमय छ,’ उनले भनिन्। आफ्नो बाल्यकाल आर्थिक अभाव र सामाजिक अपहेलनले भरिएको बताउँदै उनले पढ्नका लागि कलम–कापी नपाउँदाको पीडा सम्झिन। उनले गरिबीकै कारण खान र बस्नसमेत चुनौती खेपेर बाल्यकाल हुर्किएको सुनाइन ।

यद्यपि वादीले जीवनमा भोगेका थुप्रै सङ्घर्षले आफ्नो जीवनलाई थप बलियो र परिपक्व बनाएको बताएकी छिन् । अभावका बीच पनि पढ्ने रहर उनले कहिल्यै मार्नुपरेको र एउटा संस्थाले उनलाई शिक्षामा सहयोग गर्यो । समाजसेवा (बिएसडब्लु) अध्ययन पूरा गरेकी वादीले शिक्षा नै चेतनाको मुख्य आधार रहेको बताए । पढ्न पाएपछि उनले जीवनलाई फरक ढङ्गले अगाडि बढाउन सक्ने भइन । ‘समाजमा आत्मसम्मानको लडाइँ निकै ठुलो हुँदोरहेछ,’ उनले भनिन, ‘जुन अहिलेसम्म लडिरहेछु ।’

प्रतिक्रिया लेख्नुहोस