चैत १६, काठमाडौं । कर्णाली प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूले प्रधानमन्त्री बालेन्द्र शाह सँग भेटघाट गरेका छन्।
प्रतिनिधिसभा सदस्य रमेश कुमार मल्लका अनुसार भेटमा आगामी आर्थिक वर्षको बजेटमा कर्णाली प्रदेशलाई प्राथमिकता दिनुपर्ने विषय प्रमुख रूपमा उठाइएको थियो।
साथै कर्णालीको शासकीय सुधार, भौतिक पूर्वाधार निर्माण, जाजरकोट भूकम्पपछिको राहत तथा पुनर्निर्माण, मनसुनपूर्व तयारी लगायतका विषयमा विस्तृत छलफल भएको उनले जानकारी दिए।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा कर्णालीको विकास निर्माणका विषयमा छलफल भएको छ ।
त्यस्तै भेटमा कर्णाली, भेरी र राप्ती करिडोरका सडक आयोजना, मध्य–पहाडी, मदन–भण्डारी तथा लुम्बिनी–रारा लोकमार्ग निर्माणलाई गति दिनुपर्ने आवश्यकता औँल्याइएको थियो।
त्यसैगरी स्वास्थ्य बीमा, मातृ–शिशु पोषण, दैलेख पेट्रोलियम अनुसन्धान, वन्यजन्तुबाट हुने जोखिम व्यवस्थापनका साथै सञ्चार, विद्युत्, खानेपानी, सिँचाइ, कृषि, शिक्षा, वन र पर्यटन क्षेत्रका प्राथमिकताबारे पनि ध्यानाकर्षण गराइएको थियो।
छलफलका क्रममा प्रधानमन्त्री शाहले कर्णाली प्रदेशलाई आगामी बजेटमा न्यायोचित रूपमा सम्बोधन गर्ने, आवश्यक योजनाहरू शीघ्र अघि बढाउन समन्वय गर्ने र चालु वर्षमा शासकीय सुधारमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरेको सांसद मल्लले बताए।
भेटघाट तथा संवादका लागि प्रधानमन्त्रीप्रति कर्णालीका सांसदहरूले धन्यवाद व्यक्त गरेका छन्।